एक महिनासम्म घाँटीको खसखस निको नहुँदा कोटेश्वरका एक उद्यमी त्रसित भए र आफूलाई क्यान्सर भएको स्वनिर्णय गरी क्यान्सर रोगका विशेषज्ञकहाँ पुगे । राजधानीकै एउटा स्वास्थ्य केन्द्रका ती विशेषज्ञले खासै केही नभएको र आत्तिनु नपर्ने सुझाव दिए । ती उद्यमीले पत्याए पो ? उनी थप परीक्षण गर्न भारततिर हान्निए । दिल्लीस्थित प्रख्यात क्यान्सर अस्पताल चहारे । तिनले आवश्यक नभएका परीक्षण बारम्बार गराए । विज्ञहरूले अन्ततः तिनका आफन्तसँग कुरा गरे, अझ पनि तिनले नमाने मनोचिकित्सककहाँ पुर्‍याउने सुझाव दिए ।

कुनै रोगप्रति बढी जागरुकताले नयाँ रोगलाई जन्म दिन सक्छ भन्ने उदाहरण हो यो । क्यान्सर भएकाहरू समस्यामा रहेकै बेला, क्यान्सर नभएकाहरूले पनि फोबियाले गर्दा आफ्नो जीवनलाई कष्टकर बनाउने गरेका छन् ।

नेपालमा शिक्षित नयाँ पुस्ताका केही व्यक्ति आफूलाई सामान्य रोग हुँदा समेत क्यान्सरको परीक्षण गराउन अन्कोलजिस्टकहाँ जाने क्रम केही समययता बढ्दो छ । क्यान्सर खतरनाक रोग हो । यही भएर यसप्रति अति जागरुकताले गर्दा नयाँ पुस्तामा क्यान्सर फोबियाले ग्रस्त व्यक्तिको संख्यासमेत बढिरहेको छ ।

फोबियालाई बोलचालको भाषामा भय वा डर भनिन्छ । यो यस्तो मानसिक स्थिति हो, जसमा हामी कुनै घटना वा परिस्थितिका कारण हडबडाउन, अतालिन थाल्छौं । जब कि त्यसो गर्नुपर्ने कुनै कारण नै हुँदैन । कुनै घटना वा परिस्थितिलाई लिएर हाम्रो मनमा डर उत्पन्न हुन्छ, जसले गर्दा हाम्रो जीवनशैली प्रभावित हुन थाल्छ ।

'हामीकहाँ आउने बिरामीमध्ये करिब १५ प्रतिशतचाहिँ शंकाले गर्दा आत्तिएर आएका हुन्छन्,' भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाश न्यौपाने भन्छन् । त्यस्ता व्यक्तिहरूमा पढेलेखेका, स्कुल/कलेजका विद्यार्थी, पैसा भएकाहरू, एक्लै बस्नेहरू बढी मात्रामा रहेको उनको बुझाइ छ ।

उता, भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडिएसन अंकोलजी विभागका प्रमुख डा. अञ्जनी झाका अनुसार, त्यहाँ पुग्ने रोगीमध्ये ४० प्रतिशतसम्म क्यान्सरको डर (फोबिया) कै कारण पुग्ने गरेका छन् ।

फोबियाको सिकार व्यक्ति डिप्रेसनको फन्दामा समेत पर्न सक्ने औंल्याउँदै त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोज ओझा भन्छन्, 'क्यान्सरबारे समाजमा अति नराम्रो छवि छ, निको नहुने रोग भनेर, यसले गर्दा आमव्यक्ति यथार्थ नबुझी शंकाको आधारमै तनावमा पर्ने गर्छन् ।'

उनका अनुसार यदि, चिकित्सकले क्यान्सर नभएको पुष्टि गरेपछि त्यसमाथि विश्वास गरेर ढुक्क हुनुपर्छ, अनावश्यक रूपमा तनावको बोझ बोक्नु हुन्न । क्यान्सरको डर अति भएर नियमित कामकारबाही प्रभावित हुने अवस्था उत्पन्न भए मनोचिकित्सकको सल्लाह समेत आवश्यक हुने उनी बताउँछन् ।

बदलिँदो जीवनशैलीले गर्दा आम नेपालीको दिनचर्या पूर्णरूपमा प्रभावित भइरहेको विज्ञहरूको आकलन छ । कामको दबाब र मस्तीले गर्दा आम शिक्षित युवा नेपाली अन्य कुरामा ध्यान दिँदैनन् । अनियमित दिनचर्याको असर स्वास्थ्यमा देखिन थाल्छ । यस्तोमा सामान्य रोगको लक्षण देखिँदासमेत व्यक्तिविशेष आफूमा क्यान्सरको लक्षण पाएको भ्रममा पर्न थाल्छन् र बिनाकारण क्यान्सरको परीक्षण गराउन थाल्छन् ।

'अध्ययन नभए पनि, हामीकहाँ आउन बिरामीमध्ये ३५ देखि ४० प्रतिशतसम्ममा क्यान्सर फोबिया पाइने गरेको छ,' डा. झा भन्छन्, 'तपाईं आफ्नो खानपान, रहनसहन, अम्मल आदिले गर्दा कुनै गल्ती गरिरहनुभएको छ भने, आफूलाई केही हुनेबित्तिकै तपाईंलाई त्यो त्यही गल्तीको परिणाम लाग्न थाल्छ ।'

धूमपान वा सुर्तीका अन्य प्रकारको सेवनले मुख र फोक्सोमा क्यान्सर हुन्छ । क्यान्सर फोबियाले ग्रस्त व्यक्तिमा तमाखुका अम्मली नै धेरै रहेको

झा बताउँछन् ।

हाल क्यान्सर उपचारमा धेरै प्रगति आएकाले केही क्यान्सर प्रारम्भिक अवस्थामा उपचार गराए निको समेत हुन्छ । 'शंका लागेको छ भने एकपटक सल्लाह लिनु ठीकै हो,' उनी भन्छन्, 'तर दिनदिनै आतंकित भएर बाँच्नु राम्रो होइन ।'

विज्ञहरूका अनुसार, नेपालमा क्यान्सरका रोगी दुई अवस्थाका भेटिने गरेका छन्— ओभर टि्रटमेन्ट र अन्डर टि्रटमेन्ट । 'एकातिर धनीहरू ओभर टि्रटमेन्ट गराइरहेका छन् भने अर्कोतिर गरिबहरू छन्, जो अन्डर टि्रटमेन्टको स्थितिमा छन्,' डा. न्यौपाने भन्छन्, 'केही नभए पनि क्यान्सर भएको शंकामा अस्पताल धाउने निकै बढेका छन् । अर्कातिर, क्यान्सरले स्तन कुहिए पनि अस्पताल जान नसक्ने समेत छन् ।'

क्यान्सर फोबियाका सिकार प्रायः २० देखि ४० वर्षसम्मको उमेर समूहका हुने गरेको भक्तपुर क्यान्सर अस्पतालको क्लिनिकल अंकोलजिस्ट डा. उज्ज्वल चालिसे बताउँछन् ।

कस्तो लक्षण देखिए परीक्षण गराउने

धूमपान गर्नेहरूले लगातार खोके

खकारमा रगत देखिए

वाक्वाकी लागिरहे

रिँगटा लाग्ने गरे

महिनाबारी रोकिएपछि वा महिनाबारी हुनुअगावै

रक्तस्राव भए

योनिबाट गन्हाउने पानी

बग्न थाले

खाना खान अप्ठयारो हुन थाले

पिसाबमा रगत देखिन थाले

घाँटी वा काखीमा नदुख्ने खालका गिर्खाहरू भेटिए